डा. गोविन्द केसीको अनशन तयारीप्रति स्थानीयको विरोध
धनगढी । सरकारले विगतमा भएका सहमति र आफूले अघि सारेका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै डा. गोविन्द केसी धनगढीमा अनशन बस्न आइपुगेका छन् । दिउँसो ३ बजेदेखि अनशन बस्ने उनले घोषणा गरेका छन् ।
हिजो धनगढी आएका डा. केसी धनगढी उपमहानगरपालिका-१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर धर्मशालाको कोठा नम्बर २११ मा बसेका छन्। बिहीबार बिहान स्थानीयले उनलाई भेटेर गेटास्थित शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालन प्रभावित हुन सक्ने भन्दै अनशन नबस्न आग्रह गरेका छन् ।
यसैबीच, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दले पनि डा. केसीलाई काठमाडौंमै अनशन बस्न सुझाव दिएका थिए । कैलालीमा स्वास्थ्य अवस्था जटिल बने उपचार व्यवस्थापन गर्न कठिन हुन सक्ने उनीहरूको भनाइ थियो ।
डा. केसीले साउन ५ गतेसम्म सरकारलाई पाँचबुँदे माग पूरा गर्न समय दिएका थिए । तर, सरकारले कुनै चासो नदिएपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उनको तर्फबाट विजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आन्दोलनबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवारी सरकारकै हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।
उनका मागमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था, निजी मेडिकल कलेजमा सिट वृद्धि तथा छात्रवृत्ति कटौतीसम्बन्धी निर्णय खारेज, चिकित्सा शिक्षा आयोग र शहीद दशरथचन्द मेडिकल विश्वविद्यालयमा भएका विवादित नियुक्ति बदर तथा सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार गर्नुपर्ने विषय समावेश छन्।
डा. केसीले आफू मेडिकल विश्वविद्यालय सञ्चालनको विरोधमा नभई यसको शीघ्र सञ्चालन र सुदृढीकरणको पक्षमा रहेको बताउँदै विश्वविद्यालयलाई राजनीतिक तथा व्यापारिक स्वार्थको केन्द्र बनाउन नहुने धारणा राखेका छन्।
यता, गेटास्थित शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डा. केसीको अनशनले प्रक्रिया प्रभावित हुन सक्ने भन्दै स्थानीयस्तरमा विरोध बढ्न थालेको छ। सामाजिक सञ्जालमा समेत विश्वविद्यालय सञ्चालनमा अवरोध पुग्ने गरी आन्दोलन नगर्न आग्रह गर्दै विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।




प्रतिकृया दिनुहोस