दैलेखको मैनेखोलामा फोर्स गाडी दुर्घटना: ४ जना घाइते, २ जना सकुशल
दैलेख, १५ साउन। दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा बुधबार बिहान फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् भने दुई जना सकुशल रहेका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ८:३० बजे अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–ख ३०७२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो। गाडीमा सवार कुल ६ जनामध्ये चार जना घाइते भएका छन् भने दुई जनालाई सामान्य चोट लागेको छ।
दुर्घटनामा घाइते हुनेहरूमा सुर्खेतको बराहताल गाउँपालिका–७ का २५ वर्षीय जितेन्द्र दर्लामी (टाउको र हातमा चोट), अछामको कमलबजार नगरपालिकाका २५ वर्षीय सुमन शाही (टाउको, हात र खुट्टामा चोट), गाडी चालक विकास शाही (टाउको, हात र खुट्टामा चोट) तथा सहचालक अशोक शाही (टाउको, हात र खुट्टामा चोट) रहेका छन्। प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम रहेको छ।
त्यस्तै, बराहताल गाउँपालिका–७ की २९ वर्षीया मनमाया दर्लामीको हात र खुट्टामा सामान्य चोट लागेको छ भने ६ वर्षीय किशन दर्लामी सकुशल रहेका छन्।
घाइतेहरूको घटनास्थलबाट उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली केयर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।




प्रतिकृया दिनुहोस